दैलेखमा सबैभन्दा धेरै खर्च
सुर्खेत । कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विनियोजन गरिएको बजेट नै फ्रिज भएको छ । प्रदेश सरकारले कोरोना महामारीविरुद्ध जुध्नका लागि छुट्याएको बजेट मध्ये सात करोड रुपैयाँ खर्च हुन नसकेको हो । खर्च नभएपछि उक्त बजेट फ्रिज भएको हो ।
कर्णालीमा केन्द्र र प्रदेश सरकारले कोरोनाविरुद्ध जुध्नका लागि जम्मा ३० करोड ५९ लाख १५ हजार रुपैयाँ छुट्याइएको थियो । जसमध्ये सात करोड ३६ लाख चारसय ५० रुपैयाँ फ्रिज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना प्रतिकार्यको ७७ प्रतिशत अर्थात २३ करोड ५५ लाख ५४ हजार पाँचसय ५० रुपैयाँ मात्रै कार्यान्वयन भएको छ ।
कोरोनाको त्रासपछि कर्णाली प्रदेश सरकारले १० करोड चारलाख १५ हजार रुपैयाँ विकास बजेट कटौती गरेर प्रतिकार्यका लागि रकमान्तर गरेको थियो । त्यस्तै राहत कोषबाट थप दुई करोड ५० लाख रुपैयाँ कोरोना विशेष अस्पतालाई उपलब्ध गराएको थियो । जसमा प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक÷एक करोड र रुकुमपश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
त्यस्तै कोरोना प्रतिकार्यकै लागि अर्थ बजेटबाट थप १६ करोड ५० लाख रुपैयाँ र संघीय सरकारले प्रदेश अस्पताल सुर्खेत र स्वास्थ्य कार्यालय दैलेखलाई एक एक करोड रुपैयाँ कोरोना प्रतिकार्यका लागि उपलब्ध गराएको थियो । बजेट खर्च हुन नसकेको फ्रिज हुन प्रदेश सरकारको कमजोरी भएको सरोकारवालाहरुको भनाइ छ । जिल्ला तहमा नागरिकले प्रभावकारी स्वास्थ्य सुविधा नपाएको, अस्पतालहरुमा आवश्यक उपकरण नभएको, औषधिको उपलब्धता नभएको र अधिकांश क्वारेन्टाइन र आइसोलेसनमा न्युनतम सुविधा पनि नदिएको प्रदेश सरकारले बजेट खर्च गर्न नसकेर खेचाँची गरेको उनीहरुको भनाइ छ ।
‘लकडाउनले गर्दा बजेट कार्यान्वयन हुन सकेन’
कोरोना रोकथामका लागि विनियोजन गरिएको बजेट लकडाउनका कारण कार्यान्वयनमा बाधा परेको सम्बन्धित अस्पताल तथा स्वास्थ्य कार्यालयहरुले बताएका छन् । सबैभन्दा बढी बजेट फ्रिज भएको प्रदेश अस्पतालले लकडाउनकै कारण बजेट कार्यान्वयन गर्न कठिनाइ भएको बताएको छ ।
अस्पतालले पीसीआर मेसिन र विभिन्न किट तथा बेडहरु खरिद गरेको तर लकडाउनका कारण पुरै बजेट कार्यान्वयन गर्न नसकेको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताए । त्यस्तै डोल्पा अस्पतालले पनि भेन्टिलेर र आइसीयूका सामान आपूर्तिका लागि गरेको टेन्डरसमेत रद्द गर्नु परेको बताएको छ ।
प्रदेशले डोल्पामा जेठमा मात्रै बजेट पठाएको थियो । बजेट ढिलो आउँदा सामान खरिद गर्न नसकेको अस्पतालले जनाएको छ । यद्यपी कोरोना भाइरको त्रासपछि कर्णालीका सबै अस्पतालमा कुनै न कुनै उपकरणहरु थप भएका छन् । सात वटा जिल्ला अस्पतालमध्ये हुम्लामामा दुइ बेडको आइसीयु कक्ष, मुगुमा एउटा पोर्टेबल भेन्टिलेटर, दैलेखमा दुइ वटा भेन्टिलेर र पाँच बेडको आइसीयू कक्ष निर्माण गरिएको छ । त्यस्तै कालिकोटमा पाँच बेड आइसीयसहितको अस्पताल सञ्चालनकाको चरणमा छ ।
कुन अस्पतालको कति रकम फ्रिज ?
सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना विशेष अस्पतालका रुपमा रहेको प्रदेश अस्पताल सुर्खेतको सबैभन्दा धेरै अर्थात तीन करोड ४३ लाख एकहजार ६ सय ९५ रुपैयाँ फ्रिज भएको छ । प्रदेश अस्पताललाई संघीय सरकारले एक करोड र प्रदेश सरकारले चालु र पूजिँगततर्फ नौं करोड ७५ लाख १५ हजार रुपैयाँ कोरोना प्रतिकार्यका लागि उपलब्ध गराएका थिए । जसमध्ये अस्पतालले ६२ प्रतिशत अर्थात ६ करोड ६२ लाख ८३ हजार तीनसय पाँच रुपैयाँ मात्रै खर्च गरेको छ ।
प्रदेश अस्पताल कर्णाली प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल समेत हो । तर प्रदेशका अन्य दुई वटा कोरोना विशेष अस्पतालले भने शतप्रतिशत बजेट खर्च गरेका छन् । कोरोना अस्पतालका रुपमा तोकिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिमले शतप्रतिशत बजेट खर्च गरेका हुन् । प्रदेश सरकारले प्रतिष्ठानलाई तीन करोड २५ लाख र चौरजहारीका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । जसमध्ये प्रतिष्ठानले ९७ प्रतिशत र चौरजहारीले ९९ प्रतिशत खर्च गरेको छन् ।
स्वास्थ्य सेवा निर्देशनालयको एक करोड ७९ लाखमध्ये ५३ प्रतिशत अर्थात ९६ लाख ४८ हजार एकसय रुपैयाँ मात्रै कार्यान्वयन भएको छ । बाँकी ८२ लाख ५१ हजार नौँ सय रुपैयाँ फ्रिज भएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयको ३५ लाख ५० हजार रुपैयाँमध्ये २७ लाख १५ हजार पाँचसय रुपैयाँ कार्यान्वयनमा आउँदा आठ लाख ३५ हजार रुपैयाँ फ्रिज भएको छ ।
दैलेखमा सबैभन्दा धेरै बजेट खर्च
कर्णाली प्रदेशका दश वटा जनस्वास्थ्य कार्यालय ९जिल्ला अस्पताल० मध्ये दैलेखमा कोरोना प्रतिकार्यको ९४ प्रतिशत बजेट कार्यान्वयन भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित भएको दैलेखमा संघ र प्रदेशबाट एक करोड ८९ लाख ५० हजार प्राप्त भएको थियो । जसमध्ये ९४ प्रतिशत अर्थात एक करोड ७९ लखा सात हजार सातसय ५० रुपैयाँ खर्च भएको छ ।
बाँकी दश लाख ४२ हजार दुईसय ५० रुपैयाँ फ्रिज भएको छ । यस्तै जनस्वास्थ्य कार्यालय सुर्खेतको एक करोड २६ लाखमध्ये ४६ लाख ९९ हजार आठसय फ्रिज भएको छ । सल्यानको एक करोड ३३ लाखमध्ये १७ लाख ४२ हजार तीन सय, रुकुमपश्चिमको एक करोड आठ लाखमध्ये ११ लखा १७ हजार, जाजरकोटको एक करोड ९६ लाखमध्ये २३ लखा ७१ हजार ६ सय रुपैयाँ फ्रिज भएको छ ।
कालिकोटको एक करोड ३७ लाखमध्ये ११ लाख ५० हजार आठ सय जुम्लाको ४३ लाखमध्ये ६ लाख ५३ हजार ६, हुम्लाको ७१ लाखमध्ये १४ लाख ८१ हजार र मुगुको ८७ लाखमध्ये १२ लाख ९६ हजार तीन सय रुपैयाँ फ्रिज भएको छ । त्यस्तै डोल्पामा ५५ लाखमध्ये १० लाख २३ हजार, मेहलकुना अस्पतालको ९५ लाखमध्ये १३ लाख १५ हजार र प्रदेश आयुर्वेद औषधधालयको ७२ लाखमध्ये ६० लाख ४८ हजार रुपैयाँ फ्रिज गएको सामाजिक विकास मन्त्रालयका तथ्याङ्क अधिकृत विनोद आचार्यले जानकारी दिए ।
शनिबार, साउन १७, २०७७मा प्रकाशित गरिएको