सुर्खेत । वीरेन्द्रनगरमा तत्काल जग्गाको कित्ताकाट नखुल्ने भएको छ । वीरेन्द्रनगरको गुरुयोजना निर्माणमा कित्ताकाटले असर गरेको भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कार्यपालिकाले निर्णय गरी डेढ वर्षदेखि जग्गा कित्ताकाटमा रोक लगाई पछि अझै पनि कित्ताकाट नखुल्ने नपाले जनाएको छ ।
नगर उप–प्रमुख तथा कार्यवाहक प्रमुख मोहनमाया ढकालले नेपाल सरकारले ताकेको मापदण्डअनुसार नै यसअघि कित्ताकाटको काम भइरहेको बताईन् । मन्त्रालयले कित्ताकाट फुकुवा गरेको बताउदै कावा प्रमुख ढकालले तत्काल वीनपाले कित्ताकाटको विषयमा कुनै निर्णय नगरेको बताईन ।
ढकालले वीरेन्द्रनगरमा रहेका पूराना घडेरीहरूमा अनिवार्य आठ मिटरको सडक र नयाँ प्लानिङ्गमा दश मिटरको सडक निर्माण हुनुपर्ने गरी निर्णय कार्यान्वयन भइरहेको बताईन् । कित्ताकाट खोल्ने सरकारको पछिल्लो निर्णयका विषयमा समेत आफूहरूले केही सोची नसकेको उनले जनाईन् । नगरपालिकाले हाल साविककै निर्णय अनुसार एउटा कित्ता वर्षमा एक पटक मात्रै काट्न मिल्ने निर्णय कार्यान्वयन गरिरहेको छ ।
यता, तीन वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट फुकुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गतेदेखि देशभर जग्गा कित्ताकाट खुला गरेको हो । यसको कार्यान्वयन पक्षबारे भने अन्योलता कायमै छ । सरकारले २०७४ सालदेखि देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिने भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेको थियो ।
बुधबार, भाद्र २४, २०७७मा प्रकाशित गरिएको