सुर्खेत । बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका ८ दैलेखका ४८ राउटे परिवारलाई कम्बल वितरण गरेको छ ।
समुदायले मङ्गलबार राउटे बस्तीमै पुगेर कम्बल वितरण गरेको हो । गुराँस गाउँपालिका ८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ घरपरिवारलाई सहयोग गर्न गएको समुदायको टोली उनीहरु बेँसी झरेको खबर पाएपछि त्यहाँबाट सुर्खेत चिङ्गाड गाउँपालिका ६ पाम्कास्थित पुँडे भन्ने ठाउँमा पुगेर कम्बल वितरण गरिएको ईस्टर्न समुदायका विशप गोपाल क्षेत्रीले जानकारी दिए ।
चिसोमा बस्ने राउटे परिवारलाई न्यानो गराउने हेतुले उनीहरुलाई कम्बल वितरण गरिएको बताउँदै उनले रु एक लाख ८४ हजार ४०० मूल्य बराबरको कोरियन ब्राण्डको डबल बेडको कम्बल सहयोग गरिएको जानकारी दिए ।
सो वडा कार्यालयले प्रत्येक राउटेलाई मासिक रु तीन हजार भत्ता उपलब्ध गराउँदै आएको छ । कर्णाली प्रदेश सरकारले पनि प्रत्येक राउटेलाई रु दुई हजार भत्ता दिने निर्णय गरेको छ । प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आएपछि प्रति राउटेले मासिक रु पाँच हजार पाउनेछन् ।
चिसोको समयमा कम्बल दिने आफ्ना लागि भगवान नै भएको राउटे भक्तबहादुर शाहीले बताए । राउटे महिला सुवा शाहीले चिसोमा कम्बल सहयोग गरेकोमा खुशी व्यक्त गर्दै अहिले आफ्न खाने चामल नभएकोले सहयोग गर्न अनुरोध गरे ।
बुधबार, पौष २२, २०७७मा प्रकाशित गरिएको