दैलेख । दैलेखका ६ स्थानीय तहले धमाधम विद्युतीकरण गरिरहेका छन् । ११ वटा स्थानीय तह रहेको दैलेखमा ६ वटा स्थानीय तहले सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साझेदारीमा काम गर्दै आएका हुन् ।
कार्यक्रमको ९० र स्थानीय तहको १० प्रतिशत लगानीमा भैरवी गाउँपालिकाले १० करोड रुपैयाँको लागतमा काम गर्दै आएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए । सातवटा वडा रहेको गाउँपालिकामा हालसम्म ५० प्रतिशत विद्युतीकरणको काम सकिएको छ। आगामी असार मसान्तसम्म सम्पूर्ण काम सक्ने लक्ष्य राखिएको अध्यक्ष बुढाले बताए ।
यस्तै, भगवतीमाई गाउँपालिकाले पनि विद्युतीकरणलाई तीव्र अघि जनाएकाको छ। पाँच महिनाअघिदेखि थालिएको र हालसम्म ४० प्रतिशत काम सकिएको गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले बताए । १० करोड रुपैयाँ बजेटमध्ये आठ करोडको लागतमा काम सुरु भई २४ महिनामा सकाउने गरी कामलाई तीव्रता दिइएको थापाको भनाइ छ ।
डुंगेश्वर गाउँपालिकाको वडा नम्बर २ सामुदायिक ग्रामीण विद्युतीकरणको काम सम्पन भैसकेको छ । गाउँपालिकाको १० प्रतिशत र सामुदायिक ग्रामीण विद्युतीकरणको ९० प्रतिशत लगानी गरी २ करोड ५५ लाख रुपैयाँको लागतमा काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए ।
नौमुले गाउँपालिकाले पनि विद्युतीकरणलाई तीव्ररुपमा अघि बढाएको छ । दुई महिनाअगाडि ६ करोड रुपैयाँको लागतमा सुरु भएको काम हालसम्म ४० प्रतिशत सकिएको र आगामी चैतसम्म सम्पूर्ण काम सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले जानकारी दिए ।
महाबु गाउँपालिकाले पनि १० करोड १५ लाख रुपैयाँ लगानीमा विद्युतीकरणलाई धमाधम अगाढि बढाएको जनाएको छ । १० प्रतिशत गाउँपालिकाको लगानी र ९० प्रतिशत सामुदायिक ग्रामीण विद्युतीकरणको साझेदारीमा माघदेखि काम सुरु भएको गाउँपालिकाका अध्यक्ष जंगबहादु शाहीले बताए । २०७८ साउनसम्म विद्युतीकरणको काम सक्ने गरी ठेक्का दिइएको शाहीले बताए ।
यस्तै, गुराँस गाउँपालिकाले विद्युतीकरणलाई अघि बढाएको छ । २५ करोड रुपैयाँ लागतमा सम्पन्न हुने विद्युतीकरण कर्णाली प्रदेशका १० जिल्लामध्ये धेरै बजेट गुराँसमा रहेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बाताए । उनले हालसम्म ८० प्रतिशत काम सकिएको आगामी असोजसम्म पूरै काम सकिने बताएको थाहाखबर डट कममा समाचार छ ।
मंगलबार, माघ २०, २०७७मा प्रकाशित गरिएको