काठमाडौं, जेठ १६ । पछिल्लो २४ घण्टामा थप एक सय ७० जनामा कोरोना भाइरस कोभिड १९ मा संक्रमणको पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या एक हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयकाअनुसार रौतहटमा मात्र ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ जना बालिका छन् भने २२ देखि ७० वर्ष उमेरका ५४ जना पुरुष छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गरिएको थियो ।
यस्तै कपिलवस्तुमा ५१ जना संक्रमित थपिएका छन् । टेकुमा गरिएको परीक्षणमा भृकुटी माविको क्वारेन्टाइनमा रहेका २३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ७ वर्षीय बालकदेखि ५२ वर्षका पुरुषसम्म छन् ।
यस्तै गौतमबुद्ध मावि क्वारेन्टाइनमा रहेका १५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको रुपन्देहीस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।
दाङमा गरिएको परीक्षणमा कपिलवस्तु विजयनगरमा ९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १७ देखि ५२ वर्षका छन् । भरतपुर, चितवनमा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिकाका चार जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
यसैगरी झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २४ जना कचनाकवल गाउँपालिकाका छन् । उनिहरु १८ देखि ४१ वर्ष उमेर समुहका छन् । कोशी अस्पताल, विराटनगरमा गरिएको परीक्षण तयारी भिट्टाका २४ देखि ५४ वर्ष उमेर समूका तीन जनामा संक्रमण पुष्टि भएको छ ।
धरानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डुडुवाका उनीहरु १७ देखि ४१ वर्ष उमेरका पुरुष छन् ।
पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिएका छन् । पर्साको पोखरियाका २१ देखि ४२ वर्ष उमेरका चार जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो भने बाराको पीपरपाती माविमा रहेका चार जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सर्लाहीमा ५ संक्रमित थपिए । टेकुमा परीक्षणको परीक्षणमा मलंगवाका चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु १९ देखि ३० वर्षका छन् । पाटन अस्पतालमा रहेका सर्लाहीका ३१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सप्तरीका चार जनामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि २६ वर्षका छन् । नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जना १९ र २१ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
दाङको गढवाका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु २८ र ४१ वर्षका पुरुष हुन् । रुपन्देहीको सैनामैनाका २७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पोखरामा गरिएको परीक्षणमा म्याग्दी मालिकाका ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।
यसैविच, भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का एक युवकको बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।
शुक्रबार, जेठ १६, २०७७मा प्रकाशित गरिएको