प्रदेशसभालाई विशेष सम्बोधन देखि रंगशाला निरीक्षणकाे तालिका
सुर्खेत । नेकपा एमालेका पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत आउँदैछन् ।
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन ओली सुर्खेत जाल लागेका प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार ओली शुक्रबार बिहान सुर्खेत पुग्ने कार्यक्रम रहेको छ । ओली मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।
दीक्षान्त समारोह उपसमितिका संयोजक सहप्राध्यापक डाक्टर लिलाधर तिवारीका अनुसार प्रधानमन्त्री ओली विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा हुने दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले दीक्षान्त दीक्षान्त समारोहको अध्यक्षता गर्नेछन् । दीक्षान्त समारोहमा भारतको सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक एवम् जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा महेन्द्र पी लामाको प्रमुख आतिथ्यता रहनेछ ।
दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट तीन वर्षको ब्याजका तीन जलाई कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका तीन जनालाई उपकुलपति पदक, डीन लिष्टमा परेका स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जनाले प्रमाणपत्रसहित पदक पाउने छन् । दीक्षान्त समारोहमा तीन हजार ८४१ जना विद्यार्थीहरू दीक्षित हुनेछन् ।
दीक्षान्त समारोहपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्य तालिका छ। प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार साढे दुई बजे प्रदेशसभामा मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्रीको स्वागत गर्नेछन् । लगत्तै प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुनेछ ।
प्रदेशसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन उद्घाटन गर्नेछन्। तीन वर्षअघिनै निर्माण सम्पन्न भएर पठन–पाठन भइरहेको भवन प्रधानमन्त्रीले उद्घाटन गर्नेछन् ।
सानो सुर्खेतमा रहेको इन्जिनियरिङ भवनको उद्घाटनपछि प्रधानमन्त्री ओली कर्णाली प्रदेश सरकारको गौरवको योजना कर्णाली रङ्गशालाको निरीक्षण गर्नेछन् ।
आगामी जेठमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तय गरिएको रंगशाला निरीक्षण गर्न उनी चार बजे पुग्ने कार्यक्रम छ । रंगशाला निरीक्षणपछि प्रधानमन्त्री ओली काठमाडौं फर्किने छन् ।
शुक्रबार, फाल्गुण २३, २०८१मा प्रकाशित गरिएको