सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा गुडिरहेको फोर्स गाडिबाट हाम फाल्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१२ नेवारे का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन् ।
गएराति ११ बजेको समयमा वीरेन्द्रनगर १२ तिनकुनेचोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडिको ढोकाबाट सडकमा हाम फाल्दा उनी घाइते भएका थिए ।
नेपाली रैबारलाई प्राप्त विषेश स्रोतका अनुसार उपाध्याय गाडिको पछाडि बसेका थिए । एक जना महिला सङ्ग विवाद भएपछि उनी हाम फालेका थिए । अहिले महिला प्रहरी नियन्त्रणमा छन् भने उनको नाम प्रहरीले गोप्य राखेको छ ।
यस्तै घाइते उपाध्यायलाई तत्काल उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
उनको शव हाल प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । गाडि चालक वीरेन्द्रनगर–१२ बस्ने २४ वर्षीय कुसल राना प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उपाध्याय वीरेन्द्रनगरमा लामो समयदेखि डेरी सञ्चालन गर्दै आएका थिए ।
यता मृतकका आफन्तजनहरुले हत्या भएको भन्दै सत्यतथ्य छानविनको माग गरेका छन् ।
शुक्रबार, फाल्गुण ३०, २०८१मा प्रकाशित गरिएको