सुर्खेत । सुन एक धातु हो जसको उल्लेख वेदमा पाइन्छ, जहाँ यसको नीर्माणमा अग्नी र सुर्यको मुख्य भुमीका रहने बताइन्छ । यो एक रासायनिक तत्व हो जस्को खानी बन्न अग्नी अथवा सुर्यको कीरणसँग यस धातुका लागि प्रयुक्त तत्वहरुको क्रीया प्रतीक्रिया र संयोजनले काम गर्दछ । अनुकुल अवस्था सघन भएको ठाउँमा प्रचुर मात्रामा र सामान्य अवस्थामा कण वा सुक्ष्म रुपमा सुन सर्वत्र व्याप्त रहेको कुरा वेद अध्ययनबाट बुझ्न सकिन्छ ।
सुनको विश्वव्यापी मान्यताको कारण भनेको यो बहुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई पनि हाम्रो समुदायमा प्रचलित छ जसका कारण सुनको महत्त्वलाई टेको दिन सकेको छ । विकशित मुलुकहरूमा आधुनिक मेसिनहरुद्धारा कम तौलमा सुनका गहना तयार गर्ने गरिए पनि नेपालमा त्यो नरहेको र अझै पनि नेपाली मौलिक गहनाहरु बढी मात्रामा चल्ने गरेकोले सुनको खपत नेपालमा अत्याधिक हुने गरेको पाईन्छ ।
नेपालमा आदिकालदेखि सुनचाँदीको गरगहना, कलाकृति लगायत श्रृंगार र सजावटका सामानहरुको निर्माण र प्रयोग भइ आएको छ । इतिहासको अध्ययन गर्दा विभिन्न शासनकालहरुमा विभिन्न खालका गरगहनाहरु, कलाकृतिहरु, मन्दिर गुम्बाहरु लगायतका विभिन्न सम्पदाहरुको निर्माण भएका छन्। किँरातकाल, लिच्छविकाल, मल्लकाल, शाहकाल लगायतका विभिन्न काल खण्डमा अत्यन्त कुशल कलाकारिताका साथमा हातको प्रयोग गरी बनाइएका विभिन्न हस्तनिर्मित गरगहनाहरु, मुर्तिहरु, स्मारकहरु, धार्मिक देवी देवताका मुर्ति मन्दिरहरुमा समेत सुनचाँदीको प्रयोग भएको हामी देख्न सक्दछौं । ती कलाकारिता, आलंकारिकता, सम्पदा, श्रृंगार र सँस्कृतिहरुले सभ्यताको परिचायकका रुपमा हाम्रो धर्म सँस्कृति, रितिरिवाज, रहनसहनमा स्थान पाइ आएको छ । हाम्रो समाजले जन्मदेखि मृत्यु सम्मका विभिन्न संस्कारहरुमा सुनचाँदी र गरगहनाहरुको प्रयोग गरिआएको छ । यसमा धार्मिक, सामाजिक, आर्थिक लगायत विभिन्न कारणहरु रहेका छन् । नेपाल र नेपालीको परिचयको अभिन्न अंगको रुपमा सुनचाँदी र गरगहनाहरु रहेका छन् ।
विश्वको सुनको ईतिहास
सन १९१३ मा अमेरिकामा फेडरल रिजर्भ बैंकको स्थापना भएपछि डलरको निस्कासन गर्दा सो बराबरको सुन जम्मा गरी मात्र अमेरिकाले सुनको आधार भएको मुद्राको रुपमा डलर प्रचलनमा ल्यायो । सुनको आधार भएको कारणले विश्वभरि नै व्यापारको माध्यमको रुपमा डलर सर्वस्वीकार्य पनि बन्यो र आजसम्म पनि अधिकांश विश्वको व्यापारको मुख्य मुद्रा डलर नै रहेको छ । संसारमा नै सबैभन्दा बढी सुनको संचय पनि अमेरिकामा नै छ । अहिले पनि सबै देशका केन्द्रीय बैंकहरुले आ–आफ्नो ढुकुटीमा सुनको संचय गर्नै पर्ने व्यवस्था रहेको छ र सुन विश्वको मौद्रिक प्रणालीको अभिन्न अंग रही आएको छ । नेपालको रिजर्भ बैंक, नेपाल राष्ट्र बैंकले यही प्रणालीको अनुसरण गर्दै नेपाली रुपैयाँको निस्कासन गर्दा सुन लगायतका सम्पत्ति ढुकुटीमा राखेर गर्दछ । सुनले संसारको मौद्रिक प्रणालीमा जस्तै नेपाली मौद्रिक प्रणालीमा पनि महत्त्वपूर्ण स्थान राख्दछ ।
नेपालमा सुनचाँदीको ईतिहास
नेपालमा सुनचाँदीको प्रयोग र यसको ऐतिहासिकताको अध्ययन गर्दा धेरै लामो इतिहास रहेको छ । यसको विभिन्न पाटोहरुको चर्चा गर्दा यसको आर्थिक तथा मौद्रिक पाटोको महत्व अझ बढी रहेको छ । विभिन्न सभ्यताहरुको बिकास क्रम सँगसँगै धनको संग्रह र अर्थतन्त्रको पनि बिकास हुँदै आएको छ । विश्वमा मुद्राको आविस्कार र मुद्रा निस्कासन गर्ने पहिलो देश चीन हो । युरोप तथा अमेरिकामा पनि विभिन्न किसिमका मुद्राहरुको प्रचलन रहेको कुरा मुद्राको विभिन्न संग्रहालयहरुको अध्ययन गर्दा देखिन्छ । सबैभन्दा बढी रुचाइएको र संग्रह गरिएको धनको स्वरुप भनेको सुन नै थियो । यो कहिले पनि ननासिने, चमकदार, पवित्र र मूल्यवान धातु हो भन्ने ज्ञान हुनासाथ अधिकांश सभ्यतामा सुनको संग्रहबाट नै सभ्यताहरुको अर्थतन्त्रहरु चलेको हामी इतिहासको अध्ययन गर्दा देख्न सक्छौं । जुन शासक वा सभ्यतासँग सुनको संग्रह भयो त्यो शासक वा सभ्यता धनी, सम्पन्न र शक्तिशाली मानिन्थ्यो । अहिलेको आधुनिक समयमा सुनको मूल्यमा हुँदै आएको वृद्धि र यसको उपलब्धतामा आएको कमीले सुनलाई अझ बढि आकर्षक बनाएको छ । सुन–चाँदीको यही गुणका कारणले नै हाम्रा पुर्खा देखि नै विवाह, शुभ कार्यहरुमा उपहार दिँदा सुनचाँदी कै गरगहनाहरु दाइजो लगायतका रुपमा उपहार र आशीर्वाद स्वरुप दिने प्रचलन रही आएको हो । त्यसैले सुनचाँदी गरगहनाहरु हरेक नेपालीहरुको घरघरमा धार्मिक, साँस्कृतिक, सामाजिक चलन, रितिरिवाजको रुपमा सुखको गहना, दुःखको खजाना को रुपमा कायम रहेको छ ।
नेपालमा सुनचाँदीको मुल्य निर्धारण
२०६९ सालमा नेपाल सुनचाँदी व्यवसायी महासंघको स्थापना पश्चात नेपाल भरिको लागि सुनचाँदीको दरभाउ मूल्य निर्धारण गर्ने काम यस महासंघले गर्दै आएको छ । नेपाल भरिका ६५ वटा जिल्ला तथा नगर संघहरुको आबद्धता भएको यस महासंघमा अधिकांश सुनचाँदी व्यवसायीहरु जोडिएर सबैभन्दा ठूलो छाता संगठनको स्वरुपमा छ । नेपाल सरकारका विभिन्न निकायहरु, नेपाल राष्ट्र बैंक, भन्सार, गृह मन्त्रालय, राजाको पालामा राजदरबार, आम उपभोक्ता लगायत सबैले यसरी संस्थागत रुपमा तोकिएको सुनचाँदीको दरभाउलाई आधार बनाएर आफ्नो आवश्यक कार्य अघि बढाएको अवस्था छ । नेपाल राष्ट्र बैंकले सुनचाँदी बितरण कार्यविधि २०६८ मा स्पष्ट रुपमा सुन आयात गर्ने बैंकलाई ०.५ प्रतिशत र सुन किन्ने ब्यवसायीलाई ०.५ प्रतिशतसम्म मुनाफा जोड्न पाउने भनी स्पष्ट ब्यवस्था गरिदिएअनुसार नेपालको सुन बजारको मूल्य निर्धारण भइ आएको छ ।
के छ समस्या तथा चुनौती ?
नेपालमा २०६३ सालदेखि ओपन जनरल लाइसेन्सको प्रणालीमार्फत् सुनको आयात गर्ने ढोका खोलिएको हो । झिटीगुन्टा भारीको प्रावधानअनुसार बिदेशबाट नेपाल आउने नेपालीले लिएर आउने सुनमा मात्र आपूर्तिको श्रोत रहेकोमा ओजीएल मार्फत् सुन ल्याउन दिएपछि विभिन्न बैंक तथा व्यवसायीहरुलाई पनि आयात गर्न बाटो खुलेको थियो ।
२०६६ सालबाट नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति ६ महिनाको वस्तु तथा सेवा आयात गर्नलाई मात्र पुग्ने गरी घटेपछि देशलाई आर्थिक रुपमा असफल हुनबाट बचाउन सीमित समयको लागि सुनको आयात बैंकहरुलाई मात्र गर्न दिनेगरी र दैनिक १० किलो सुनको कोटा तोकी सुन आयात गर्न खुला गरिएको थियो । देशको सुनको बजारको मागलाई मध्यनजर गर्दै १० किलो प्रतिदिनको कोटाबाट क्रमशः १५ किलो, २० किलो र लगनको सिजनको बेलामा २५ किलो सम्मको दैनिक सुनको आपूर्तिको व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको थियो ।
विभिन्न कालखण्ड र प्रविधिको विकास भएसंगै सुनको सुद्धता मापन गर्ने बिश्वसनिय टञ्च मेसिन, गुणस्तर नापतौलबाट प्रमाणित ढक तराजुको प्रयोग आईसकेपछि विना रसाएन ९९ प्रतिशत ग्यारेन्टीका गहना निर्माण गर्नुपर्ने अबस्था रहेको छ । सुनचाँदी व्यवसायी महासंघले तयार गरेको निर्देशिकामा तय गरिएको जर्ती तथा ज्यालाले बजार निराशाजनक बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले यहि भदौ १ गते देखि लागु हुनेगरी जारी गरेको सुनचाँदी रत्न तथा गरगहना उत्पादन तथा कारोवार आचार संहिता २०८१ मा ल्याएको निर्देशिकाले साना मझौला व्यवयायी तथा श्रमजिवी कालिगडलाई प्रत्यक्ष असर पर्ने देखिन्छ ।
के छ त निर्देशिकामा ?
६ ग्राम भन्दा कम तौल भएका र विशेष कलाकाििरताका गहनाहरुमा प्रतिस्पर्धात्मक बजारलाई मध्येनजर गर्दै क्रेता र विक्रेता वीचको आपसी समझदारीमा निर्माण शुल्क र निर्माण क्षती जर्ती तय गर्न सकिने,
६ ग्राम माथिका नेपाली मौलिक गहना (तारपात) हरुको हकमा ५ देखि ७ प्रतिशत सम्म निर्माण क्षती जर्ति लिन सकिनेछ
६ ग्राम भन्दा माथिका ज्वेलरी गहनाको प्रकृति हेरी ७ देखि १० प्रतिशत सम्म निर्माण क्षती जर्ती लिन सकिने,
सादा वेरुवा प्रकृतिका गहनाहरु उत्पादन गर्दा १ देखि ५ प्रतिशत सम्म निर्माण क्षती लिन सकिने र निर्माण शुल्कको हकमा बढीमा १ प्रतिशत लिन सकिनेछ ।
६ ग्राम भन्दा कम तौलका नेपाली मौलिक गरगहना (तारपात) एवं ज्वेलरी गरगहनाहरु वा विशेष कलाकारिताको गहनाको सामानको प्रकृति अनुसार आपसी सहमतिमा प्रतिस्पर्धात्मक बजारलाई मध्येनजर गर्दै निर्माण शुल्क लिन सकिनेछ ।
६ ग्राम भन्दा माथिका नेपाली मौलिक गरगहना (तारपात) एवं ज्वेलरी गरगहनामा ५ देखि ७ प्रतिशत सम्म निर्माण शुल्क ज्याला लिन सकिनेछ ।
यस्तै, सुनचाँदी, हिरा बहुमुल्य रत्न पत्थर जोडेर बन्ने गरगहनाहरुका लागि क्रेता र विक्रेता विच आपसी सहमतिमा मुल्य कायम गर्न सकिनेछ ।
देशमा सबै श्रमको मुल्य वृद्धि भईरहंदा सुनचाँदीको गरगहना निर्माण गर्ने कालिगडको श्रम मुल्य कम हुनाले कालिगड पेशा अंगाल्न गाह्रो हुने देखिन्छ । देशमा केहि गरिखाउ भन्ने युवाहरु विदेश पलायन हुनुको विकल्प हुदैंन र अन्तिममा गहना निर्माणमा समस्या उत्पन्न र व्यवसाय नै धरापमा पर्न सक्ने सम्भावना देखिन्छ ।
शनिबार, भाद्र २९, २०८१मा प्रकाशित गरिएको