सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित फोरलेन सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
रेडियो नेपाल नजिकै फोर्स गाडीले ठक्कर दिँदा जुम्ला घर भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परेका व्यक्ति हिमा गाउँपालिका ४, जुम्लाका अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढा रहेको प्रहरीले पुष्टि गरेको छ । गम्भीर घाइते अवस्थामा उद्धार गरिएका बुढालाई उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान भइरहेको जनाइएको छ ।
आइतबार, बैशाख ०७, २०८२मा प्रकाशित गरिएको