सुर्खेत । फोर्स गाडीको ठक्करबाट मृत्यु भएका जुम्लाका कालिबहादुर बुढाका आफन्तसँग सहमतिका लागि सुर्खेत प्रशासनमा वार्ता शुरु भएको छ ।
वीरेन्द्रनगरको फोरलेन सडकमा पर्ने रेडियो नेपाल नजिकै आइतबार विहान गाडीको ठक्करबाट बुढाको मृत्यु भएपछि आफन्त आन्दोलित बनेका थिए । तर जिल्ला प्रशासन कार्यालय सुर्खेतले सहमतिबाट निकाश दिन दुवै पक्षसँग छलफल थालेको हो ।
उचित क्षतीपूर्तीको माग राख्दै पीडित पक्षले आइतबार र सोमबार वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरेको थियो । पीडित परिवारका बालबच्चाको लालनपालन र राहत रकम दिनुपर्ने माग आफन्तको छ ।
तर समितिले नियमानुसार बाहेक अन्य माग सम्बोन्धन गर्न नसक्ने बताएपछि पीडित पक्ष आन्दोलनमा उत्रिएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दुवै पक्षलाई राखेर माग सम्बोन्धनको प्रयास भइरहेको प्रशासन स्रोतले जनाएको छ ।
‘छलफलका लागि हामी अहिले प्रशासनमा छौं,’ पीडित पक्षका मदन शाहीले भने, ‘आन्दोलन समितिका संयोजक छत्रबहादुर शाहीसहितको टोली अहिले वार्ताका लागि प्रशासनमा हुनुहुन्छ । अहिलेसम्म सहमतिको टुंगो लागेको छैन् ।’
मंगलबार विहान पीडित पक्षले बांगेशीमल पुगेर सडक अवरुद्ध गर्न लाग्दा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि पीडित पक्षले वीरेन्द्रनगरमा विरोधको कार्यक्रम प्रभावित बनेको हो । प्रहरीले आन्दोलनभन्दा सहमतिबाट निकाश दिनेगरी प्रयास थालेको जनाएको छ ।
मंगलबार, बैशाख ०९, २०८२मा प्रकाशित गरिएको