सुर्खेत, असार १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीे कर्णालीका कोरोना भाइरस कोभिड १९ को अतिप्रभावित जिल्लाहरुमा लकडाउन कडा गर्न निर्देशन दिएका छन । सोमबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन ।
कोरोना संक्रमितहरु बढी देखिएका प्रदेशका जिल्लाहरु सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले कडाइपूर्वक कार्यान्वयन गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
कोरोनाको अतिप्रभाव देखिएका ३ जिल्लामा समुदायस्तरमा पनि कोरोनाको संक्रमण पुगेको हुनसक्ने बताउँदै मुख्यमन्त्री शाहीले रोकथाम र नियन्त्रणका लागि पीसीआर परीक्षणमा जोड दिइने बताए ।
परीक्षणमा ढिलासुस्ती हुँदा नागरिकमा आक्रोश बढेको उनको भनाइ छ । ‘पीसीआर परीक्षणको लागि नमुना संकलन गरेको एक महिनासम्म पनि रिपोर्ट नआउँदा नागरिकमा आक्रोश बढेको छ । यसमा विभिन्न कारण देखाएर पन्छिन मिल्दैन,’ उनले भने ।
प्रदेश अस्पत्तालमा रहेको पीसीआर मेसिनको मर्मतको व्यवस्था तत्काल गर्न निर्देशन दिदै मुख्यमन्त्री शाहीले मेसिन बिग्रीयो भनेर बस्ने होइन विकल्पको खोजी गर्नुपर्ने बताए ।
भारतबाट प्रदेश भित्रिने चाप घट्दो क्रममा रहेको बताउँदै उनले अब समुदायस्तरमा केन्द्रित हुनुपर्ने बताए । भारतबाट आउनेहरुको संख्या घटदै गएकोले जिल्लास्तरबाटै व्यवस्थापन गर्न सकिने बताउँदै क्वारेन्टिनलाई अब जिल्लास्तरमा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
क्वारेन्टिनका लागि प्रयोग भएका स्थानीयस्तरका विद्यालय तथा सार्वजनिक संस्थाका भवनहरु खाली गर्नुपर्ने बताए ।
जिल्ला विपद् व्यवस्थापन केन्द्रको सिफारिसमा कोरोनाको प्रभाव नदेखिएका क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउँदै लगिने समितिले निर्णय गरेको छ ।
सोमबार, आषाढ १५, २०७७मा प्रकाशित गरिएको