सुर्खेत, असार २१ । होटल व्यवसायी महासंघ कर्णाली प्रदेशले कोरोना संक्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेकोले आफुहरु विस्थापित हुनबाट बचाउन सरकारलाई आग्रह गरेका छन् ।
लकडाउनमा होटलहरु पुर्णरुपमा बन्द गरी बस्नुपरेको भन्दै होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्क बहादुर शाहीले व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आएको बताए ।
‘व्यवसाय सञ्चालन गर्नका लागि बैंकबाट ऋण तानेको बताउदै उनले व्यापार ठप्प भएपछि होटल व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेकोले सरकारले उचित राहत दिनुपर्नेमा जोड दिए ।
होटल व्यवसायीहरुले आइतबार १ बजे विभिन्न मागहरु राख्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापन पत्र बुझाउने भएका छन् ।
यो अवधिको बैंकको ब्याज मिनाहा गर्नुपर्ने, न्यून व्याजदरमा पुनः ऋण उपलब्ध गराउनुपर्ने, घरबेटी र व्यवसायलाई मर्का नपर्ने गरी राहत प्याकेज ल्याउनुपर्ने लगायतका मागहरु होटल व्यवसायीहरुका छन् । कर्णालीका ७० प्रतिशत व्यवसायीहरु भाडमा बस्ने भएकोले घर भाडा र बैंकको व्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको अध्यक्ष शाहीले बताए ।