सुर्खेत, असार २२ । बिग्रिएको पीसीआर मेसिन मर्मतका लागि चासो नदिँदा सुर्खेतमा कोरोना परीक्षण प्रभावित भएको छ । १० दिनदेखि मेसिन थन्किँदा प्रदेशकै राजधानीमा पीसीआर परीक्षण हुन सकेको छैन ।
सुर्खेतको वीरेन्द्रनगरस्थित प्रादेशिक प्रयोगशालामा थुप्रिएको स्वाबको परीक्षण गर्न नमुना नेपालगन्ज पठाउनुपर्ने बाध्यता रहेको छ । मेसिन आपूर्तिकर्ता कम्पनी हेलिक्स इन्टरप्राइजेज प्रा.लिलाई यसबारे समयमै जानकारी गराइए पनि बेवास्ता गरिएको त्रिवि माइक्रोबायोलोजी केन्द्रीय विभाग प्रमुख डा। मेघराज बन्जाराले जानकारी दिए ।
उक्त मेसिन त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट खरिद मूल्यभन्दा साढे ६ लाख रुपैयाँ महँगोमा किनेर चौधरी ग्रुपले कर्णाली सरकारलाई सहयोगस्वरुप उपलब्ध गराएको थियो । डा। बन्जाराका अनुसार २०७६ पुसमा हेलिक्स इन्टरप्राइजेजमार्फत भ्याटसहित २१ लाख ५६ हजार रुपैयाँमा मेसिन खरिद गरिएको हो । उक्त मेसिन वैशाख दोस्रो साता चौधरी ग्रुप (नबिल बैंक) ले भ्याटसहित २८ लाखमा किनेर प्रादेशिक अस्पताल पठाएको थियो । ६ महिनाअघि ल्याइए पनि परीक्षण गरेरमात्र राखिएको उनको दाबी छ ।
कम्पनीले मेसिन खरिद गरिएको न्यूनतम १ वर्षसम्म कुनै खराबी आएमा मर्मत गर्ने वारेन्टी दिएको छ । आपूर्ति गर्ने कम्पनी हेलिक्सले भने अहिलेसम्म मेसिन बनाउन बेवास्ता गरिरहेको छ । हेलिक्स इन्टरप्राइजेजका प्रतिनिधि फिरोज अहमदले मेसिनको सफ्टवेयर प्रणालीमा कुनै समस्या नरहेको र हार्डवेयरमा समस्या हुनसक्ने बताए । मेसिन हेर्ने इन्जिनियर भारतबाट बोलाउनुपर्ने भएकोले केही ढिलो भएको उनको भनाई छ ।
उक्त मेसिनबाट एक पटकमा ९६ वटा स्वाबका नमुना परीक्षण गर्न सकिन्छ । मेसिन आपूर्ति गर्ने कम्पनीलाई जति फोन गर्दा पनि आज भोलि भन्दै टारिरहेको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । उनका अनुसार अहिले सुर्खेतको प्रयोगशालामा आएका नमुना प्रोसेसिङ गरेर रिडिङ को लागि नेपालगन्ज पठाउने गरिएको छ ।
प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारको समन्वयमा चौधरी ग्रुपले मेसिन किनेर सहयोग गरेको बताए । उनका अनुसार कर्णालीमा पीसीआर परीक्षणको चाप बढिरहेको बेला टेन्डर गरेर खरिद गर्दा ढिलो हुने भएपछि सहयोगको लागि आग्रह गरिएको थियो ।
नयाँ मेसिन पनि उही कम्पनीकै
प्रदेश राजधानीमै परीक्षण कार्य रोकिएपछि कर्णाली प्रदेश अस्पतालले नयाँ मेसिन ल्याउने भएको छ । अस्पताल निर्देशक डा. खड्काका अनुसार सोमबार सुर्खेत आइपुग्ने मेसिन पनि बायोराड कम्पनी कै हो । आपूर्तिकर्ता पनि हेलिक्स इन्टरप्राइजेज प्रा.लि हो । अस्पतालले गरेको टेन्डरमा हेलिक्सले भ्याटका अतिरिक्त २४ लाख रुपैयाँमा खरिद गरेर ल्याएको डा. खड्काले बताएको ekantipur.com समाचार छ ।
सोमबार, आषाढ २२, २०७७मा प्रकाशित गरिएको